Skip to main content

Command Palette

Search for a command to run...

ब्रेन रट कन्टेन्टको असर: सिकाइ र कक्षाको व्यवहारमा परिवर्तन

Updated
ब्रेन रट कन्टेन्टको असर: सिकाइ र कक्षाको व्यवहारमा परिवर्तन

— सुदिप तामाङ

हालका दिनहरूमा शिक्षकहरूबाट लगातार यस्तो गुनासो सुनिन्छ—विद्यार्थीहरू अध्ययनप्रति उदासीन देखिन्छन्, कक्षामा एकाग्र हुन सक्दैनन्, र सिकाइ सम्बन्धी गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन हिच्किचाउँछन्। सुरुवातमा यस्ता व्यवहारलाई व्यक्तिगत आलस्य वा अध्ययनप्रतिको रुचिको अभावका रूपमा बुझिए पनि पछिल्ला वर्षहरूमा शैक्षिक उपलब्धिमा देखिएको निरन्तर गिरावटले यो समस्या केवल व्यक्तिगत नभई प्रविधिजन्य र सामाजिक परिवर्तनसँग सम्बन्धित गहिरो संरचनात्मक विषय भएको स्पष्ट संकेत गर्दछ।

Microsoft ले सन् २०१५ मा गरेको एक अध्ययन अनुसार, Gen Z पुस्ताको औसत ध्यान अवधि केवल ८ सेकेन्ड रहेको पाइएको छ, जुन मिलेनियल पुस्ताको भन्दा ४ सेकेन्ड कम हो। अध्ययनले देखाउँछ कि सामाजिक सञ्जाल, मोबाइल गेमिङ तथा छोटो भिडियो सामग्रीको अत्यधिक प्रयोगले मस्तिष्कको एकाग्रता क्षमतामा उल्लेखनीय गिरावट ल्याएको छ। यस्ता प्रविधि–निर्भर जीवनशैलीका कारण विद्यार्थीहरू गहिरो सोच, निरन्तरता र विश्लेषणात्मक क्षमताबाट क्रमशः विचलित हुँदै गएका छन्।

३. ब्रेन रट कन्टेन्टको स्वरूप र असर

ब्रेन रट कन्टेन्ट भन्नाले डिजिटल माध्यमहरूमा उपलब्ध ती सामग्रीहरूलाई जनाइन्छ, जो छिटो–छरितो, सतही, बारम्बार दोहोरिने, र तात्कालिक मनोरञ्जन दिनेमात्र उद्देश्यले बनाइएका हुन्छन्। यस्ता सामग्रीहरू TikTok, YouTube Shorts, Instagram Reels आदिमा प्रशस्त मात्रामा उपलब्ध छन्। यिनको लगातार उपभोगले विद्यार्थीको मस्तिष्क कृत्रिम रूपमा उत्तेजित बन्न पुग्छ, जसको प्रत्यक्ष असर गहिरो अध्ययन, सोच र विश्लेषण आवश्यक पर्ने शैक्षिक प्रक्रियामा देखिन्छ।

ब्रेन रट कन्टेन्टको अत्यधिक प्रयोगले सिकाइ प्रक्रियामा बहुआयामिक असर पारिरहेको छ। विद्यार्थीहरू अब लामो समयसम्म एउटै विषयमा ध्यान केन्द्रित गर्न असमर्थ छन्। अध्यापनको सुरुवातमै उनीहरू बोर महसुस गर्छन् र ध्यान विचलित हुन्छ। यसले समूह कार्य, संवाद, बहस र परियोजना–आधारित सिकाइमा उनीहरूको सक्रिय सहभागिता घटाएको छ। त्यसैगरी, सिर्जनात्मकता र आलोचनात्मक सोच क्षमतामा पनि उल्लेखनीय गिरावट देखिन्छ—विद्यार्थीहरूले केवल रटेको सामग्री सम्झन्छन् तर त्यसलाई बुझेर व्याख्या गर्न वा नयाँ समाधान उत्पन्न गर्न सक्दैनन्। झन चिन्ताजनक कुरा त के हो भने, सामान्य प्रश्नहरूको उत्तर पनि आफैं सोच्नुभन्दा गुगल वा च्याटबोटमा निर्भर हुने प्रवृत्ति बढ्दै गएको छ, जसले दीर्घकालीन बौद्धिक क्षमताको विकासमा बाधा पुर्‍याइरहेको छ।

४. समाधानका सम्भावित उपायहरू

यो समस्या समाधानका लागि सबैभन्दा पहिला डिजिटल प्रयोगमा सन्तुलन कायम गर्न आवश्यक छ। गृहकार्य वा परियोजना कार्यमा मोबाइल प्रयोगलाई सीमित गर्दै विद्यार्थीहरूलाई मौलिक र सिर्जनात्मक लेख लेख्न प्रोत्साहन गरिनुपर्छ। घरमा अभिभावकहरूले पनि डिजिटल उपकरणको प्रयोग समय निर्धारण गरी सन्तुलित वातावरण बनाउन भूमिका खेल्नुपर्छ।

त्यसैगरी, सिकाइलाई सक्रियअर्थपूर्ण बनाउन डिबेट, नाटक, प्रस्तुति, समूह कार्य र खेल–आधारित शिक्षण विधिहरू प्रयोग गर्नु उपयुक्त हुन्छ। कक्षाको प्रारम्भमा mindfulness, ध्यान वा deep breathing जस्ता साना अभ्यासले विद्यार्थीहरूलाई मानसिक रूपमा केन्द्रित र शान्त बनाउन सहयोग गर्न सक्छ। साथै, शिक्षण प्रणाली केवल परीक्षा उर्तीणमै सीमित नरहेर गहिरो बुझाइ, विश्लेषण र व्यवहारमा प्रयोग गर्न सक्ने सीप विकासतर्फ उन्मुख हुनुपर्ने आवश्यकता छ।

५. निष्कर्ष

ब्रेन रट कन्टेन्टको अत्यधिक उपभोगले आजको विद्यार्थी पुस्तामा ध्यान अवधि घटाइरहेको, रट्ने प्रवृत्ति बढाइरहेको, र सिकाइको गहिराइमा स्पष्ट रूपमा कमी ल्याइरहेको यथार्थ हो। यसको असर केवल कक्षाको व्यवहारमा होइन, समग्र शैक्षिक प्रणालीमा प्रत्यक्ष रूपमा देखिन थालेको छ। यस्तो अवस्थामा शिक्षक, अभिभावक र विद्यार्थी—तीनै पक्षको संयुक्त प्रयासबाट मात्र डिजिटल सन्तुलन, सक्रिय सिकाइ र गहिरो सोचको प्रवर्द्धन सम्भव छ। समयमै सचेत नहुञ्जेलसम्म गम्भीर शिक्षासम्बन्धी संकट आउन सक्छ, जसको मूल्य दीर्घकालीन रूपमा समग्र समाजले चुकाउनु पर्नेछ।

लेखक शिक्षक , मनोविज्ञान विषयका विद्यार्थी तथा मनोसामाजिक परामर्शदाता हुन् l

More from this blog

हामी किन दुःखी हुन्छौँ?

दु:खको आयतन र घनत्वो व्यक्ति , समय र सन्दर्भ विषेश हुन्छ। समान प्रकारका दु:ख दुई व्यक्तिहरुलाई पर्‍यो भनेपनी हामी त्यो व्यक्तिका दु:खमा बढी दुखी हुन्छौं जोसँग हाम्रो बढी सामीप्यता र घनिष्ठता हुन्छ। त्यसैले हामीले दु:खको आयतन र घनत्वोलाई सामीप्यता र ...

Jan 25, 2026
हामी किन दुःखी हुन्छौँ?

म किन नास्तिक हुँ?

धार्मिक विश्वास, ईश्वरको अवधारणा तथा आध्यात्मिक आस्थाहरू मानव सभ्यताको प्रारम्भिक कालदेखि नै सामाजिक संरचना, मूल्य प्रणाली र सांस्कृतिक व्यवहारमा गहिरो प्रभाव पार्दै आएका विषयहरू हुन्। यस्ता विश्वासहरूले व्यक्तिको जीवनशैली, सोच र व्यवहारलाई निर्देशित...

Jun 24, 2025
म किन नास्तिक हुँ?

ClassSparkle

7 posts