हामी किन दुःखी हुन्छौँ?

दु:खको आयतन र घनत्वो व्यक्ति , समय र सन्दर्भ विषेश हुन्छ। समान प्रकारका दु:ख दुई व्यक्तिहरुलाई पर्यो भनेपनी हामी त्यो व्यक्तिका दु:खमा बढी दुखी हुन्छौं जोसँग हाम्रो बढी सामीप्यता र घनिष्ठता हुन्छ। त्यसैले हामीले दु:खको आयतन र घनत्वोलाई सामीप्यता र घनिष्ठताले निर्धारण गर्छ भन्न सक्छौं। दु:खको अनुभव व्यक्तिगत हुन्छ, र हामी जससँग नजिक छौँ, जसलाई माया गर्छौँ, तिनको पीडाले हामीलाई बढी छोइरहेको हुन्छ। यसले भावनात्मक घनिष्ठताको प्रभावलाई देखाउँछ।
दु:खको गहिराई र विशालतालाई दु:खसँगको अपनत्वले पनि प्रभाव पार्छ। हामी अरुका दु:खमा भन्दा ज्यादा आफ्नो दु:खमा दुखी हुन्छौं , हामीलाई अरुका पीडाभन्दा आफ्ना पीडा ठूलो लाग्छ किनकि त्यो दु:ख र पीडासँग हाम्रो अपनत्व हुन्छ। हामी अरूका तुलनामा आफ्नै दु:खलाई बढी गम्भीर रूपमा लिन्छौँ, किनकि त्यो प्रत्यक्ष रूपमा हाम्रो चेतनामा महसुस हुन्छ।
दुःखलाई परिस्थिति र समयले प्रभाव पार्छ। एउटै प्रकारको दुःख सबैका लागि समान हुँदैन, किनकि यसको आयतन र घनत्वलाई परिस्थिति र समयले निर्धारण गर्छ। एउटै दुःख परिवार , साथी र अन्यबाट सहानुभूति र साथ पाएर भोग्दा सहन योग्य हुन सक्छ, तर एक्लोपनको अवस्थामा त्यो असह्य लाग्न सक्छ। आर्थिक रूपमा सबल मानिसले समान क्षति भोग्दा सामान्य ठान्न सक्छ, तर कमजोर आर्थिक अवस्थाका लागि त्यो अस्तित्वसँग गाँसिएको पिडा हुन सक्छ। मानसिक रूपमा दृढ मानिसले दुःखलाई सहजै आत्मसात् गर्न सक्छ, तर कमजोर मानसिक अवस्थाका लागि सानो दुःख पनि भारी हुन सक्छ। अपनत्व जति बढी हुन्छ, त्यति नै दुःख गहिरो अनुभव हुन्छ।
समयले पनि दुःखको अनुभूति परिवर्तन गर्छ। जुन दुःख अहिले असह्य लाग्छ, समयसँगै त्यसको प्रभाव मथित हुँदै जान्छ। क्षणिक रूपमा ठूलो लाग्ने पीडा समयको परिप्रेक्ष्यमा सानो बन्न सक्छ। केही समयपछि दुःख बिर्सन्छौं भन्ने होइन, तर त्यससँग बाँच्न सिकिन्छ। नयाँ अनुभवहरूले पुरानो दुःखलाई ओझेल पार्न सक्छन्, तिनलाई पुनः परिभाषित गर्न सक्छन्, या कहिलेकाहीँ झन् गहिरो बनाइदिन सक्छन्। परिस्थिति अनुकूल भए दुःख कम महसुस हुन्छ, समयले त्यो कम गर्न सघाउँछ। त्यसैले दुःख स्थिर छैन, यसको आयतन, घनत्व र प्रभाव परिस्थिति र समयसँगै रूपान्तरण भइरहन्छ।
मानिस किन दुखी हुन्छ ? दु:खको उत्पत्ति अनित्य कुरामा हाम्रो अत्यधिक आसक्तिबाट हुन्छ । हामी अस्थायी र परिवर्तनशील संसारलाई स्थायी ठान्छौँ, क्षणभङ्गुर चीजहरूमा जीवनको सार खोज्छौँ, र जब ती हामीबाट टाढिन्छन्, हामी दुःखी हुन्छौँ। हामी अनित्य र नश्वर कुराहरुका पछाडी दौडिरहेकाछौँ र यसैमा मोहित भएका छौँ । हामी वास्तविक र यथार्थताभन्दा पर क्षणभङ्गुरमा मन्त्रमुग्ध छौँ । दु:ख कारण हाम्रो तृष्णा वा मोह हो । हामी जे पाउन चाहन्छौँ, त्यसप्रति हाम्रो तृष्णा तीव्र हुन्छ, र त्यो पूरा नभए दुःख पैदा हुन्छ। इच्छा पूरा भए पनि त्यो क्षणिक मात्र हुन्छ, फेरि नयाँ इच्छा जन्मिन्छ, र फेरि नयाँ दुःख चक्र सुरु हुन्छ। यसरी, तृष्णाले अनन्त दुःखको चक्र सिर्जना गर्छ। हामी हाम्रो अहंकारका कारणले दु:खी हुन्छौं। हामी आफूलाई केहि विशेष ठान्छौँ, संसारलाई आफ्ना इच्छाअनुसार चलोस् भन्ने चाहन्छौँ, तर जब यथार्थ फरक देखिन्छ, हाम्रो अहंकार टुट्छ, र त्यसैको परिणामस्वरूप दुःख जन्मिन्छ।
त्यसैले दु:खबाट मोक्ष मानसिक परिपक्वता, वास्तविकताको स्वीकारोक्ति, मोह त्याग, र आत्मचिन्तन हो। जब हामीले यी कुराहरू आत्मसात गर्न थाल्छौं, दुःखको प्रभाव क्रमशः क्षीण हुँदै जान्छ, र दु:खबाट मोक्ष प्राप्त हुन्छ।



